निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आयोगको सचेतना

189 Shares

काठमाडाैं । कानुन अनुसार चुनावी प्रचारमा बालबालिकाको प्रयोग निषेध छ। तर, निर्वाचन आयोगमा राजनीतिक दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोकाउने कार्यमा बालबालिकालाई प्रयोग गरेको उजुरीहरू परिरहेको छ।

निर्वाचन आयोग नेपालका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो कि बालबालिकालाई सांस्कृतिक कार्यक्रम, र्‍याली, कुनै दल वा उम्मेदवारविरुद्धका गतिविधि, झण्डा वा निर्वाचन चिह्न अंकित भेस्ट वा टीसर्ट जस्ता सामग्री प्रदर्शनमा सहभागी गराइएको उजुरी प्राप्त भएको छ।

उनका अनुसार विद्यालय समयमा राजनीतिक दल वा उम्मेदवारका चुनावी कार्यक्रम सञ्चालन हुँदा शैक्षिक कार्यमा अवरोध सिर्जना भएको उजुरी पनि आयोगमा आएको छ। यसपछि आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न सबै पक्षलाई सचेत गराएको हो।

नेपालको संविधानको धारा ३९ अनुसार प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन र सर्वाङ्गीण व्यक्तित्व विकासको अधिकार प्राप्त छ। बालबालिका सम्बन्धी ऐन २०७५को दफा ३(२) अनुसार सरकारका सबै तहले बालबालिकाको जीवन र विकासको लागि सुरक्षा र जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने व्यवस्था छ।

निर्वाचन आचारसंहिता २०८२ को दफा १३(१)(ख) मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न नहुने स्पष्ट व्यवस्था गरिएको छ। उल्लंघन भएमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना लगाउने वा उम्मेदवारी रद्द गर्न सक्ने अधिकार राख्छ।

आयोगले सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई स्मरण गराउँदै भन्यो, “कुनै पनि राजनीतिक गतिविधि वा निर्वाचन प्रचारप्रसार गर्दा बालबालिकाको कुनै पनि किसिमबाट प्रयोग नगर्नुहोस् र बालबालिकाको अध्ययन–अध्यापनमा असर पार्ने कार्य नगर्नुहोस्।”