काठमाडौं । निर्वाचन आयोग नेपालले शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई राजनीतिक दल र उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो। निर्वाचनको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ।
तर, आचारसंहिता विपरीत केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको उजुरी आयोगमा पुगेपछि आयोगले औपचारिक रूपमा सचेत गराएको हो।
शिक्षा ऐन २०२८को दफा १६ङ(५) अनुसार शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने व्यवस्था छ। त्यसैगरी निर्वाचन आचारसंहिता २०८२ को दफा १० (क) मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सम्बद्ध कर्मचारी, प्राध्यापक र शिक्षकले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने प्रावधान रहेको छ।
आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ, “शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा, तटस्थता तथा कानुनी दायित्वलाई मनन गर्दै आचारसंहिता विपरीत हुने कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसार नगर्न–नगराउन सचेत गराइन्छ।”
आचारसंहिताविपरीत गतिविधिमा संलग्न पाइएमा कारबाही गरिने आयोगले चेतावनी दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया