काठमाडौं महानगरमा भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालन सुरु

174 Shares

काठमाडौं: काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धी भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा ल्याइएको छ।

कार्यक्रममा कुमार इङ्नामले भू–सेवा केन्द्र सञ्चालनको शुभारम्भ गर्दै संविधानअनुसार केन्द्रको अधिकार स्थानीय तहसम्म लैजानुपर्ने भएकाले यस्तो सेवा महानगरमा लागू गरिएको बताए। सिंहदरबारमा पाइने सुविधा स्थानीय तहमा पुर्‍याउन सके मात्र गाउँगाउँमा सेवा पुगेको मान्न सकिने उनको भनाइ थियो।

उनले अधिकांश नागरिकको मुख्य सरोकार जग्गा–जमिनसँग जोडिएको उल्लेख गर्दै राज्यले उद्योग–व्यवसायतर्फ पनि नागरिकलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार भू–सेवा केन्द्र हाल पाइलट प्रोजेक्टका रूपमा १० वडाबाट सञ्चालनमा ल्याइएको छ। निकट भविष्यमै ३२ वटै वडाबाट सेवा विस्तार गर्ने तयारी गरिएको छ।

पहिलो चरणमा वडा नम्बर ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट सेवा सुरु गरिएको छ। प्राविधिक तथा भौतिक तयारी आवश्यक भएकाले सबै वडामा एकैपटक सेवा सञ्चालन गर्न कठिन भएको महानगरले जनाएको छ।

यस सेवामार्फत राजश्व संकलन, बायोमेट्रिक प्रक्रिया, जग्गा किनबेचसम्बन्धी कागजात (तमसुक) तयार गर्ने, जग्गा रोक्का–फुकुवा, पूर्जा प्रिन्टलगायत सेवा स्थानीय तहबाटै उपलब्ध गराइने जानकारी दिइएको छ।