काठमाडौं: नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन्।
उनका अनुसार पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयन चरणमा पुगेको छ। यसले व्यापार घाटा कम गर्न सहयोग पुग्ने उनले बताए।
इथानोल मिश्रणसम्बन्धी अध्ययन दुई दशकदेखि हुँदै आएको उल्लेख गर्दै उनले पेट्रोलमा इथानोल मिसाउने आदेश २०८२ स्वीकृत भइसकेको र नीति राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा जाने चरणमा रहेको जानकारी दिए।
मन्त्री सिन्हाले पेट्रोलमा इथानोल मिसाउनु स्वच्छ ऊर्जातर्फको महत्त्वपूर्ण कदम भएको बताए। १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक १३ करोड लिटर पेट्रोल आयात घट्ने र झन्डै ६ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा बचत हुने उनको दाबी छ।
इथानोल उत्पादनका लागि उखुजस्ता कृषि उत्पादन बढ्ने, कृषि भूमिको उपयोग विस्तार हुने तथा आन्तरिक अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
यद्यपि नयाँ उद्योग स्थापना, औद्योगिक वातावरण, सुरक्षा, रोजगारी तथा कच्चापदार्थ उत्पादनमा चुनौती रहेको उनले स्वीकार गरे। साथै यस क्षेत्रमा विदेशी लगानी आउने सम्भावना रहेको उल्लेख गर्दै स्वस्थ प्रतिस्पर्धा आवश्यक भएकोमा उनले जोड दिए।
इथानोल प्रतिस्पर्धी बनाउन यसको मूल्य पेट्रोलभन्दा कम हुनुपर्ने र त्यससम्बन्धी कार्यविधि चाँडै आउने उनले जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया