जेनजी प्रदर्शनका घाइतेको विवरण उपलब्ध गराउन सरकारको निर्देशन

88 Shares

काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार जेनजी आन्दोलनका क्रममा छुट भएका घाइतेहरूको विवरण उपचारमा संलग्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाले तत्काल मन्त्रालयमा बुझाउनुपर्नेछ।

घाइतेहरूको उपचार र राहत व्यवस्थालाई प्रभावकारी बनाउन गठित समन्वय समितिको निर्णयअनुसार यही फागुन १५ गतेभित्र विवरण उपलब्ध गराउन निर्देशन दिइएको हो। फागुन १ देखि १५ गतेभित्र प्राप्त विवरणका आधारमा सूचीकरण, वर्गीकरण तथा पुनःवर्गीकरण गरी अन्तिम नामावली सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।

प्रवक्ता डा. बुढाथोकीका अनुसार हालसम्म २०० जना घाइतेको मात्र वर्गीकरण विवरण प्राप्त भएको छ। मन्त्रालयको तथ्यांकअनुसार जेनजी प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते भएका उल्लेख छ।

सरकारले अतिगम्भीर र गम्भीर घाइतेलाई मासिक ९ हजार रुपैयाँ तथा मध्यम घाइतेलाई मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। सामान्य घाइतेलाई भने सुविधा नपाइने भएकाले केही व्यक्ति सम्पर्कमा नआएको हुन सक्ने मन्त्रालयको भनाइ छ।