काठमाडौं: निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकाले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन्।
गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको कार्यक्रममा उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो सफल नहुने बताए। उनले तोकिएको मिति र समयमा नै निर्वाचन सम्पन्न हुने स्पष्ट पारे।
उनले अझै केही उम्मेदवारहरूले निर्वाचनबारे संशय राखेर सम्पर्क गर्ने गरेको उल्लेख गर्दै भ्रममा नपरी निर्वाचन प्रचारप्रसारमा सक्रिय हुन सुझाव दिए। केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्न सक्ने उनले बताए।
निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्याउँदै उनले निर्वाचनको वातावरण बिथोलिने अवस्था अब नबन्ने जिकिर गरे। राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताहरू निर्वाचन प्रचारप्रसारमा सक्रिय रहेको र उनीहरूले निर्वाचनबाहेक अर्को विकल्प नदेखेको उनको भनाइ छ।
निर्वाचन विथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र आयोगले पनि नजिकबाट अनुगमन गरिरहेको उनले स्पष्ट पारे।
फेसबुकबाट तपाईको प्रतिक्रिया