काठमाडौं । निर्वाचन आयोग नेपालले हानिकारक सूचना उत्पादन र सम्प्रेषण गर्ने २ सय ९० वटा कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा पत्राचार गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगकी सहायक प्रवक्ता सीता पुनले निर्वाचन आचार संहिता उल्लङ्घन गर्ने मिथ्या, भ्रमपूर्ण वा घृणास्पद सूचना दिने व्यक्तिहरूलाई निगरानी गरी कानुनको दायरामा ल्याउन गठित “निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र” अन्तर्गत सूचना सदाचार प्रवर्धन इकाई पूर्ण रूपमा क्रियाशील रहेको जानकारी दिइन्।
उनले हानिकारक सूचना उत्पादन गर्ने २ सय ९० कन्टेन्ट उत्पादकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि साइबर ब्युरोमा पठाइएको जानकारी दिइन्।
त्यसैगरी, ११ जनालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा, ६५ जनालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिलमा, र एक जनालाई विज्ञापन ऐन, २०७६ बमोजिम कारबाहीका लागि पठाइएको आयोगले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया