काठमाडौं। सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन्।
शुक्रबार पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिक जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्ने बताइन्।
नवीन प्रविधि विकास र अनुसन्धानमा आधारित प्राज्ञिक गतिविधिमा जोड दिनुपर्ने बताउँदै उनले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष रूपमा जोड्न आवश्यक रहेको उल्लेख गरिन्।
उनले शिक्षालाई आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न नसकिए ज्ञान र पाठ्यक्रम सान्दर्भिक नहुने बताइन्। विश्वविद्यालय अध्ययन पूरा गरेपछि ठूलो संख्यामा युवाहरू विदेशतर्फ आकर्षित हुनु साझा चिन्ताको विषय रहेको उनले बताइन्।
परिवर्तनशील विश्व परिवेशमा विद्यार्थी र विश्वविद्यालय दुवै प्रतिस्पर्धी र सक्षम बन्न केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले गुणस्तरीय शिक्षा मार्फत विश्व बजारको मागअनुसार जनशक्ति उत्पादन गर्नुपर्ने बताइन्।
दीक्षान्त प्राप्त प्रमाणपत्र रोजगारीको आधार मात्र नभई समाज र राष्ट्रका जटिल समस्या पहिचान गरी दीर्घकालीन समाधान खोज्ने क्षमताको संकेत हुनुपर्नेमा उनले जोड दिइन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया