पदीय दुरुपयोग आरोपमा एन्ड्रयूमाथि अनुसन्धान तीव्र, राजपरिवारमाथि बढ्यो दबाब

149 Shares

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय का भाइ तथा पूर्वराजकुमार एन्ड्रयू माउन्टब्याटन-विन्डसर प्रहरी नियन्त्रणमा परेका छन्। सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य (मिसकन्डक्ट) गरेको आशंकामा लण्डनस्थित थेम्स भ्याली प्रहरी ले ६६ वर्षीय एन्ड्रयूलाई बिहीबार नियन्त्रणमा लिएर दिनभर सोधपुछ गरी मुक्त गरेको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था Reuters का अनुसार, प्रहरी कार्यालयबाट बाहिरिने क्रममा एन्ड्रयू निकै थकित र भावुक मुद्रामा देखिएका थिए। बेलायती कानुनी गोपनीयताका कारण प्रहरीले पक्राउ परेका व्यक्तिको नाम आधिकारिक रूपमा सार्वजनिक नगरे पनि ६० वर्षभन्दा माथिका एक व्यक्तिलाई नियन्त्रणमा लिइएको पुष्टि गरेको छ। उमेर र घटनाको प्रकृतिले ती व्यक्ति एन्ड्रयू नै भएको स्पष्ट भएको छ।

सन् २०१० मा बालिकाहरूलाई यौन शोषण तथा वेश्यावृत्तिमा संलग्न गराएको अभियोगमा दोषी ठहरिएका अमेरिकी अपराधी जेफ्री एप्स्टिन सँग एन्ड्रयूको सम्बन्ध रहेको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ। एप्स्टिनलाई संवेदनशील व्यापारिक प्रतिवेदनहरू उपलब्ध गराएको भनी परेको उजुरीका आधारमा उनीमाथि कानुनी घेरा कसिलो बनेको बताइएको छ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा सार्वजनिक पदमा रहँदा गरिएको भनिएको दूराचारको गम्भीर आरोपमाथि विस्तृत अनुसन्धान सुरु गरिएको उल्लेख छ। “यस प्रक्रियाको निष्पक्षता र अखण्डता जोगाउन हामी प्रतिबद्ध छौँ,” विज्ञप्तिमा भनिएको छ। प्रहरीका अनुसार यस प्रकरणमा अन्य साझेदार निकायहरूसँग सहकार्य गर्दै तथ्यहरूको मूल्यांकन भइरहेको छ र उपयुक्त समयमा थप जानकारी सार्वजनिक गरिनेछ।

यसअघि अमेरिकामा एप्स्टिन प्रकरणसँग सम्बन्धित लाखौँ पृष्ठका गोप्य दस्ताबेज सार्वजनिक भएपछि एन्ड्रयू पुनः विवादको केन्द्रमा तानिएका थिए। जनचासो उच्च रहेको यस प्रकरणले बेलायती राजपरिवारमाथि थप दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ। पदीय दुरुपयोगको आरोप पुष्टि भएमा यसले राजपरिवारको छविमा गम्भीर असर पार्न सक्ने आकलन गरिएको छ।