काठमाडौं । नेपाल मा जेनजी आन्दोलनपछि यही फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा अब १३ दिन मात्रै बाँकी रहेको छ।
यसैबीच निर्वाचन आयोग नेपाल ले निर्वाचनलाई केन्द्रमा राखेर TikTok भिडियो बनाउने अभियान सञ्चालन गर्ने भएको छ। राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य र सभ्य बनाउन आयोगले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ। निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षालाई लक्षित गरी यस्तो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
निर्वाचन आचारसंहिता र मतदाता शिक्षाजस्ता विषयमा आधारित एक मिनेट बराबरको टिकटक भिडियो बनाई आफ्नो सामाजिक सञ्जालमा राख्नुपर्नेछ। साथै फागुन १७ गतेसम्म आयोगको इमेलमा समेत भिडियो पठाउनुपर्ने व्यवस्था गरिएको छ।
आयोगका अनुसार प्राप्त भिडियोमध्ये सबैभन्दा बढी भ्युज भएका भिडियोहरूलाई पुरस्कार प्रदान गरिनेछ। पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रोलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ। भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को परिवेशमा तयार पार्नुपर्नेछ भने संवादमूलक र सन्देशमूलक हुनुपर्नेछ। मौलिक अडियो र अभिनय भएका भिडियोलाई विशेष प्राथमिकता दिइने आयोगले जनाएको छ।
भिडियोमा निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्त्व, मतपत्रमा सही तरिकाले छाप लगाउने प्रक्रिया, निर्वाचन आचारसंहिताको पालना तथा मतदाताको अधिकार र कर्तव्यबारे जानकारी समेटिएको हुनुपर्नेछ। साथै मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने विषयसमेत समावेश गर्न सकिनेछ।
एक व्यक्तिले एक विषयमा एक भिडियो पठाउन सक्नेछन् भने दुई वा दुईभन्दा बढी व्यक्ति मिलेर पनि भिडियो निर्माण गर्न सक्नेछन्। आयोगमा प्राप्त भिडियोमाथि आयोगकै अधिकार रहनेछ र ती भिडियो आयोगका सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सकिनेछ।
तोकिएका सर्त पूरा नगरेका वा म्याद नाघेर आएका भिडियो स्वीकार नगरिने जनाइएको छ। उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगबाट गरिने सूचनामा उल्लेख गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया