निर्वाचनले मुलुकमा अनुशासन कायम गर्ने विश्वास : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

185 Shares

काठमाडौं । रामप्रसाद भण्डारी, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त, ले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुकमा विथोलिएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास व्यक्त गर्नुभएको छ।

भण्डारीले बिहीबार दशौं निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई निर्धक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन अपिल गर्नुभएको छ। गत भदौ २३–२४ गते भएको ‘जेनजी विद्रोह’पछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुन अब १४ दिन मात्र बाँकी छ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन आयोगको मूल मन्त्र “‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचन: शान्ति, स्थिरता, समृद्धि र सुशासन’” लाई आत्मसात गर्न सबैमा आग्रह गर्नुभएको छ।

नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते बालिग मताधिकारका आधारमा आम निर्वाचन सुरु भएको दिनको सम्झनामा आज निर्वाचन दिवस मनाइँदैछ। भण्डारीले निर्वाचन आम नागरिकका लागि विशेष र अविस्मरणीय रहेको बताउनुभयो।

उहाँले विशेष राजनीतिक परिस्थिति र विद्रोहपछिको निर्वाचनले मुलुकलाई स्थायित्व दिने विश्वास व्यक्त गर्दै राजनीतिक दल र उम्मेदवारलाई प्रचारप्रसारमा कुनै अवरोध नहुनेमा जोड दिनुभएको छ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले उम्मेदवारहरूलाई तथ्य र तर्कका आधारमा प्रतिस्पर्धा गर्न र मतदातालाई स्वतन्त्रतापूर्वक मताधिकार प्रयोग गर्न आह्वान गर्नुभएको छ। उहाँले उम्मेदवार र मतदाताको अधिकार कुण्ठित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।