निर्वाचन आउन १५ दिन बाँकी, प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

144 Shares

निर्वाचन आयोग नेपाल ले प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा चुनावी गतिविधिमा प्रविधिको दुरुपयोग नगर्न आग्रह गरेको छ।

आयोगका अनुसार यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १५ दिन मात्रै बाँकी रहेको छ। प्रविधिको गलत प्रयोगले निर्वाचनको निष्पक्षतामै प्रश्न उठ्न सक्ने भएकाले यस विषयमा सबै सरोकारवालालाई गम्भीर बन्न आयोगले आग्रह गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर तयार गरिएका भ्रामक सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत गलत सूचना नफैलाउन सञ्चार माध्यम तथा सम्बन्धित सबै पक्षसँग पनि सहयोगको अपेक्षा गर्नुभएको छ।

उहाँले चुनाव केन्द्रित मत सर्वेक्षणका नतिजा सार्वजनिक नगर्न पनि आग्रह गर्नुभएको छ। निर्वाचन आचारसंहिता २०८२ ले मतदाताको स्वतन्त्र निर्णयलाई प्रभावित पार्ने खालका गतिविधि रोक्ने उद्देश्य राखेकाले पूर्वानुमान नतिजा सार्वजनिक गर्दा प्रतिस्पर्धाको वातावरणमा असर पर्न सक्ने आयोगको भनाइ छ।

नयाँ प्रविधिले सूचना प्रवाह सहज बनाएको भए पनि यसको दुरुपयोग गर्न नहुनेमा आयोगले जोड दिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिताको पूर्ण पालना गर्न सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आयोगले जनाएको छ।