नेपाल निर्वाचनका लागि बङ्गलादेश प्रधानमन्त्रीको शुभकामना

134 Shares

तारिक रहमान ले नेपाल मा फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा र बङ्गलादेशका प्रधानमन्त्री रहमानबीच मंगलबार राति ढाका मा भएको भेटवार्ताका क्रममा उक्त शुभकामना व्यक्त गरिएको ढाकास्थित नेपाली दूतावास ढाका ले जनाएको छ। सो अवसरमा मन्त्री शर्माले प्रधानमन्त्री रहमानलाई प्रधानमन्त्री सुशीला कार्की ले पठाउनुभएको बधाई सन्देश पनि हस्तान्तरण गर्नुभएको थियो।

दूतावासका अनुसार परराष्ट्रमन्त्री शर्माले लोकतान्त्रिक प्रक्रियामार्फत निर्वाचन सम्पन्न गरेकोमा बङ्गलादेश सरकारको सराहना गर्दै रहमान नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टी ले बहुमत हासिल गरेकोमा बधाई दिनुभएको थियो।

भेटवार्ताका क्रममा नेपाल र बङ्गलादेशबीच व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा तथा पर्यटन क्षेत्रलगायतमा सहकार्य बढाउने विषयमा छलफल भएको बताइएको छ। दुवै पक्षले द्विपक्षीय दिगो साझेदारी अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएका छन्।

यसअघि परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पनि सहभागी हुनुभएको थियो। नेपाल परराष्ट्र मन्त्रालय का अनुसार सोमबार ढाका प्रस्थान गर्नुभएका मन्त्री शर्मा बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।