काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई प्रहरीले पुनः पक्राउ गरेको छ। सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। निर्वाचन नजिकिँदै गर्दा उनले दिएको भनिएको अभिव्यक्तिले निर्वाचन वातावरण प्रभावित हुनसक्ने आशंकाका आधारमा पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ।
जिल्ला प्रहरी परिसर काठमाडौं का अनुसार पक्राउपछि प्रसाईंलाई अनुसन्धानका लागि परिसर ल्याइएको छ। परिसरका प्रहरी उपरीक्षक पवन भट्टराई ले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। उनले अनुसन्धानपछि कानुनी प्रक्रिया अनुसार थप निर्णय गरिने बताएका छन्।
प्रहरी स्रोतका अनुसार प्रसाईंले हालै सार्वजनिक रूपमा दिएको अभिव्यक्ति निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गर्न सक्ने प्रकृतिको भएको आशंकामा अनुसन्धान सुरु गरिएको हो। निर्वाचनको संवेदनशील समयमा यस्ता अभिव्यक्तिले सामाजिक तथा राजनीतिक वातावरण प्रभावित हुन सक्ने भन्दै सुरक्षा निकायले विशेष निगरानी बढाएको बताइएको छ।
यसअघि पनि उनी गत २३ माघमा दक्षिणकाली नगरपालिका को चाल्नाखेल क्षेत्रबाट पक्राउ परेका थिए। त्यसबेला पनि विभिन्न अभिव्यक्ति र गतिविधिलाई लिएर अनुसन्धान भएको थियो। पछि २५ माघमा हाजिरी जमानीमा रिहा भए पनि पछिल्लो घटनापछि पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनाले निर्वाचनको पूर्वसन्ध्यामा सार्वजनिक अभिव्यक्ति, राजनीतिक सक्रियता तथा सुरक्षा व्यवस्थाबारे बहस पुनः चर्किएको छ। सुरक्षा निकायले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउन आवश्यक तयारी भइरहेको जनाएको छ।
प्रहरीले निर्वाचन अवधिमा सामाजिक सञ्जाल तथा सार्वजनिक मञ्चमा गरिने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्दै कुनै पनि भ्रामक वा उत्तेजक गतिविधिले कानुनी कारबाही निम्त्याउन सक्ने चेतावनी दिएको छ। साथै अनुसन्धान जारी रहेकाले घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया