काठमाडौं । नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आय–आर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने प्रयास तीव्र पारेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले क्रोएसिया, माल्टा लगायत १६ वटा युरोपेली मुलुकसँग श्रम सम्झौताका लागि औपचारिक प्रस्ताव पठाएको छ । मन्त्रालयका सहसचिव पिताम्बर घिमिरे ले राम्रो वातावरण भएका देशहरूमा नेपालीलाई रोजगारीका लागि पठाउन श्रम सम्झौता गर्ने गृहकार्य भइरहेको बताउनुभयो । १६ देशसँग प्रस्ताव पठाइएको र छिट्टै परिणाममुखी सम्झौता हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
परराष्ट्र मन्त्रालय नेपाल तथा नेपालका सम्बन्धित दूतावासहरूले पनि ती मुलुकहरूसँग छलफल र पहल अघि बढाइरहेका छन् । सम्झौताको खाका र अनुरोधसहित प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ ।
हाल क्रोएसिया र माल्टासहितका देशहरूमा व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपालीहरू गइरहेका छन् । अब संस्थागत रूपमा सुरक्षित र मर्यादित रोजगारी सुनिश्चित गर्न सरकार श्रम सम्झौता गर्न चाहिरहेको छ ।
पछिल्ला वर्षहरूमा रोमानिया, क्रोएसिया, पोल्याण्ड, माल्टा, साइप्रस र पोर्चुगल नेपाली वैदेशिक रोजगारीका आकर्षक गन्तव्य बन्दै गएका छन् । यी देशहरूमा नेपाली कामदारको संख्या बढ्दो छ ।
तर श्रम सम्झौता नहुँदा ठगी, शोषण र असुरक्षाको जोखिम रहँदै आएको छ । रोमानियासँग भने केही वर्षअघि नै श्रम सम्झौता भइसकेको छ, जसलाई अन्य मुलुकका लागि उदाहरणका रूपमा हेरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया