इजरायल–प्यालेस्टाइन युद्ध : मृतक संख्या ७२ हजार नाघ्यो, हजारौँ घाइते

147 Shares

एजेन्सी । इजरायलप्यालेस्टाइन बीच जारी युद्धमा परी हालसम्म कुल मृतकको संख्या ७२ हजार ६१ पुगेको छ।

सोही युद्धमा परी गत ७ अक्टोबर २०२३ देखि हालसम्म १ लाख ७१ हजार ७ सय १५ जना घाइते भएका छन्। गाजा पट्टी का स्वास्थ्य अधिकारीका अनुसार युद्धविराम लागू भएदेखि ६ सय १ प्यालेस्टिनी नागरिकको मृत्यु भएको र १ हजार ६ सय ७ जना घाइते भएका छन्। इजरायलले गरेको हवाई आक्रमणमा परी गाजा पट्टीका विभिन्न स्थानमा आइतबार मात्रै ११ जनाको ज्यान गएको छ।

नागरिक रक्षा निकायका अनुसार उत्तरी र दक्षिणी गाजाका शरणार्थी शिविर तथा विस्थापितहरूको आश्रयस्थलमा यी आक्रमणहरू भएका हुन्। यसअघि नौ जनाको मृत्यु भएको बताइए पनि पछि मृतक संख्या परिमार्जन गरिएको थियो। नागरिक रक्षा प्रवक्ता महमुद बसलले इजरायली लडाकु विमान र ड्रोनले बिहानदेखि मध्याह्नसम्म विभिन्न क्षेत्रमा आक्रमण गरेको बताएका छन्।

गाजा सिटी को पश्चिममा पर्ने तेल अल–हावामा भएको ड्रोन आक्रमणमा सामी अल–दहदोह नाम गरेका एक व्यक्तिको मृत्यु भएको बताइएको छ।

त्यस्तै, उत्तरी गाजाको बेत लाहियामा भएको अर्को आक्रमणमा तीन जना गम्भीर घाइते भएका छन्। यसअघि जबालिया शरणार्थी शिविर र खान युनिसमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा १० जनाको मृत्यु भएको थियो। प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाले जबालियाको उत्तरमा रहेको शेख जायद क्षेत्रमा घरहरू समेत भत्काएका छन्। गाजा सिटीको पूर्वी भागमा पर्ने अल–तुफाह क्षेत्रमा पनि आर्टिलरी गोलाबारी भएको खबर छ।