मतदाता शिक्षा कार्यक्रम सुरु, बदर मत घटाउने लक्ष्य

149 Shares

काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा मतदाता शिक्षाका कार्यक्रम देशव्यापी रुपमा सुरु गरिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी का अनुसार ७५३ पालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ।

निर्वाचन आयोगले प्रत्येक स्थानीय तहको हरेक वडामा एक–एक जनाको दरले स्वयंसेवक नियुक्त गरेको छ। यी स्वयंसेवकहरूले मतदानबारे मतदातामा रहेको भ्रम हटाउने र बदर मत घटाउने उद्देश्यका साथ काम गर्नेछन्। साथै सामाजिक सञ्जालमार्फत पनि मतदाता शिक्षाको प्रचारप्रसार भइराखेको छ।

आयोगले यो निर्वाचनमा धेरै युवा मतदाता नामावलीमा समावेश भएका र सचेत नागरिक भएकोले मत खस्ने प्रतिशत बढ्ने र बदर मत घट्ने अपेक्षा राखेको छ। देशभरिका ६ हजार ७४३ वडामा सोमबारदेखि एक–एक मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ र उनीहरूले फागुन १७ गतेसम्म काम गर्नेछन्।

विगतका निर्वाचनमा बदर मत क्रमशः बढ्दै गएको तथ्यांक छ। २०७० को संविधानसभाको निर्वाचनमा ४.९६ प्रतिशत, २०७४ को निर्वाचनमा ५.१६ प्रतिशत र २०७९ को निर्वाचनमा ५.१९ प्रतिशत बदर मत देखिएको थियो। तर यसपटक डिजिटल मतदाता शिक्षा र युवा सहभागिताको कारण बदर मत घट्ने विश्वास आयोगको छ।