निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रचार प्रसारको अन्तिम तयारी पूरा गरेको घोषणा

146 Shares

काठमाडौँ । आगामी २०८२ फाल्गुन २१ प्रतिनिधिसभा सदस्य निर्वाचन का लागि निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ।

निर्वाचन आयोगले फाल्गुन ३ गते राती १२ बजेदेखि १८ गते राती १२ बजेसम्म प्रचार प्रसारको १५ दिने समय सीमा तोकेको छ। त्यसपछि ‘मौन अवधि’ सुरु हुनेछ र यस अवधिमा कुनै पनि चुनावी गतिविधि, छलफल वा ‘कानेखुसी’ गर्न निषेध हुनेछ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी का अनुसार, राजनीतिक दल र उम्मेदवारहरूले छुट्टै बैंक खाता खोल्नुपर्ने, प्रचार खर्चको विवरण निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने र स्वेच्छिक आर्थिक सहयोग सम्बन्धी ऐनको पालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

उनले थपे कि सरकारले, मन्त्रालयले वा सरकारी स्रोत प्रयोग गरेर प्रचार गर्न पाइँदैन र यसको निगरानीका लागि केन्द्रिय र जिल्ला स्तरीय अनुगमन समितिहरू सक्रिय पारिएका छन्। अधिकांश दलहरूले आफ्नो घोषणा पत्र वा प्रतिवद्धता पत्र आयोगमा पेश गरिसकेको आयोगले जनाएको छ।

आयोगले मतदातालाई सुरक्षित, स्वतन्त्र, निष्पक्ष र भयरहित मतदान गर्न कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक र आम नागरिकलाई सहयोग गर्न अपिल गरेको छ।