शीर्षक : चुनावी माहोल तातेको गण्डकी — विकास, रोजगारी र पर्यटन केन्द्रमा मतदाताको चासो
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा गण्डकी प्रदेशमा चुनावी सरगर्मी उल्लेख्य रूपमा बढेको छ । राजनीतिक दल र उम्मेदवारहरू गाउँ–बस्ती, टोल–टोल र घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष सम्पर्कमा जुटिरहेका छन् । हिमाल, पहाड र तराई तीनै भू–भाग समेटिएको गण्डकी प्रदेश भौगोलिक, सांस्कृतिक र आर्थिक दृष्टिले विविधतायुक्त भएकाले यहाँका चुनावी मुद्दा राष्ट्रिय महत्वका विषयसँग जोडिने गरेका छन् ।
मनाङ र मुस्ताङजस्ता हिमालपारिका जिल्ला, कास्की, स्याङ्जा, गोरखा, लमजुङ, तनहुँ, बागलुङ, पर्वतजस्ता पहाडी क्षेत्र हुँदै तराईको नवलपुरसम्म फैलिएको प्रदेश ११ जिल्लामा विभाजित छ । उत्तरतर्फ चीनसँगको कोराला नाका र दक्षिणतर्फ भारतसँगको त्रिवेणी सीमाना भएकाले यो प्रदेश अन्तर्राष्ट्रिय व्यापार र पर्यटन विस्तारका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।
प्रदेशका १८ निर्वाचन क्षेत्रमा दल तथा उम्मेदवारहरू चुनावी तयारीमा सक्रिय भइरहँदा मतदाताले विकास, रोजगारी, कृषि, पर्यटन र पूर्वाधार निर्माणलाई प्रमुख मुद्दाका रूपमा अघि सारेका छन् । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, पहाडी क्षेत्रमा कृषि आधुनिकीकरण र तराई क्षेत्रमा पूर्वाधार तथा रोजगारी सिर्जना मुख्य मागका रूपमा देखिएका छन् ।
मुस्ताङका स्थानीयवासीका अनुसार जलवायु परिवर्तनले हिमाली क्षेत्रको कृषि प्रणालीमा गम्भीर असर पारिरहेको छ । मौसम परिवर्तन, पानीको स्रोत घट्नु तथा उत्पादनमा गिरावट आउनुले किसान समस्यामा परेको उनीहरूको भनाइ छ । कृषिमा राज्यको लगानी बढाउन र जलवायु अनुकूल खेती प्रवर्द्धन गर्न उम्मेदवारसँग प्रतिबद्धता खोजिएको छ ।
हिमाली क्षेत्रमा लामो समयदेखि अव्यवस्थित जग्गा नापी हुन नसक्दा भूमिहीन सुकुम्बासीहरू समस्यामा परिरहेका छन् । स्थानीयका अनुसार सम्पन्न वर्गले व्यावसायिक खेती गरिरहे पनि भूमिहीनहरू त्यसबाट लाभान्वित हुन सकेका छैनन् ।
पर्यटनको ठूलो सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधार र नीति अभावका कारण पूर्ण रूपमा उपयोग हुन नसकेको स्थानीयको भनाइ छ । विशेषगरी उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायम गरिँदा विदेशी पर्यटक आगमन प्रभावित भएको उनीहरूको धारणा छ ।
पर्यटन व्यवसायीहरूले कोराला नाका प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने माग गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार चीनसँगको सिधा व्यापार र पर्यटन विस्तारका लागि उक्त नाका व्यवस्थित सञ्चालन अपरिहार्य छ । साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनुपर्ने माग पनि उठिरहेको छ ।
गण्डकी प्रदेश प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटनका दृष्टिले समृद्ध मानिन्छ । फेवाताल, तालबाराही, मुक्तिनाथ, मनकामना, गोरखा दरबार, तिलिचो ताल, लोमान्थाङ, देवघाटलगायत स्थलले पर्यटकलाई आकर्षित गर्दै आएका छन् । पदयात्रा पर्यटनअन्तर्गत अन्नपूर्ण चक्रीय पदमार्ग, मर्दी–माछापुच्छ्रे पदमार्ग, धौलागिरि पदमार्ग तथा मिलेनियम ट्रेक लोकप्रिय गन्तव्य हुन् ।
गुरुङ सम्पदा पदमार्ग, सिरुवारी, घलेगाउँ, ढोरपाटन, अमलटारीलगायत घरवास कार्यक्रमले ग्रामीण पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याइरहेका छन् । पर्यटन व्यवसायीहरूले पूर्वाधार विकास, प्रचारप्रसार र नीति सुधारमा जोड दिएका छन् ।
कृषि क्षेत्र पनि प्रदेशको प्रमुख सम्भावनाका रूपमा रहेको छ । हिमाली क्षेत्रमा स्याउ खेतीदेखि तराईको उर्वर भूमि नवलपुरसम्म विभिन्न कृषिजन्य उत्पादन गर्न सकिने विज्ञहरूको भनाइ छ । तर सिँचाइ अभाव, नदी कटान, बजार व्यवस्थापन र आधुनिक प्रविधि अभावले कृषक समस्यामा छन् ।
कास्कीका कृषक रमेश आचार्यका अनुसार नदी कटान नियन्त्रण र सिँचाइ व्यवस्थापन सुधार गर्न सके कृषि उत्पादन उल्लेख्य रूपमा बढ्न सक्छ । कृषिमैत्री नीति, अनुदान र बजार सुनिश्चितता भए प्रदेशले खाद्यान्नमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको उनले बताए ।
पछिल्लो समय बाँदरको समस्या पनि कृषकका लागि चुनौती बनेको छ । खेतीपातीमा क्षति बढेपछि यसको नियन्त्रणका लागि राज्यले ठोस नीति ल्याउनुपर्ने माग कृषकहरूले गरेका छन् ।
पूर्वाधार विकासका विषयमा पनि मतदाताको चासो उच्च छ । नवलपुरका बासिन्दाले प्रदेश राजधानी पोखरासँग सिधा सडक पहुँचको माग गर्दै आएका छन् । भिमाद हुँदै पोखरा जोड्ने सडक व्यवस्थित हुन सके आवागमन सहज हुने उनीहरूको भनाइ छ ।
रोजगारी सिर्जना पनि प्रमुख चुनावी मुद्दा बनेको छ । युवाहरू विदेश पलायन हुने क्रम बढेकाले स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योग, पर्यटन र कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने माग मतदाताले उठाएका छन् ।
प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । तीमध्ये महिला नौ लाख ५५ हजार ५१६, पुरुष नौ लाख १४ हजार ५३५ र अन्य १४ जना छन् । १८ निर्वाचन क्षेत्रमा २१ राजनीतिक दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।
सबैभन्दा कम मतदाता मनाङ जिल्लामा छ हजार ८४९ जना रहेका छन् भने सबैभन्दा धेरै मतदाता कास्की जिल्लामा दुई लाख ९३ हजार ८८ जना रहेका छन् । कास्कीमा १५० मतदानस्थल निर्धारण गरिएको छ ।
निर्वाचन नजिकिँदै जाँदा गण्डकी प्रदेशका मतदाता विकास, रोजगारी, पर्यटन प्रवर्द्धन, कृषि आधुनिकीकरण, पूर्वाधार निर्माण र जलवायु परिवर्तन न्यूनीकरणजस्ता मुद्दामा केन्द्रित देखिएका छन् । उम्मेदवारहरूले यी विषयमा कत्तिको ठोस योजना प्रस्तुत गर्छन् भन्ने विषयले चुनावी परिणाममा महत्वपूर्ण प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया