काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एडभान्स एनालेटिक सेल गठन गर्ने तयारी गरेको बताउनुभएको छ।
सोमबार काठमाडौंमा आयोजित ‘अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका’ विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सूचना प्रविधिको दुरुपयोग गरी झुटा तथा भ्रामक सामग्री प्रसारण हुने क्रम बढेकाले त्यस्ता गतिविधिको निगरानी र कानुनी उपचारका लागि उक्त सेल आवश्यक भएको बताउनुभयो।
उहाँका अनुसार डिजिटल युगमा छिटो सूचना दिने प्रतिस्पर्धाका कारण गलत सूचना, दुष्प्रचार, हेट स्पिच, एआईको दुरुपयोग तथा डिजिटल म्यानुपुलेसनबाट सिर्जित सामग्री बढ्दै गएको छ, जसले समाज र सुरक्षा प्रणालीमा नकारात्मक असर पार्न सक्ने जोखिम रहेको छ। यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न नेपाल प्रहरी र सञ्चार क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको उहाँले औँल्याउनुभयो।
प्रहरी महानिरीक्षक कार्कीले राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीहरूले आफ्नो व्यावसायिक जिम्मेवारीका रूपमा आत्मसात गर्नुपर्ने बताउँदै कानून कार्यान्वयन नै कानूनी शासनको आधार भएको उल्लेख गर्नुभयो। साथै अपराध अनुसन्धानमा प्रतिकूल प्रभाव पार्ने खालका समाचार सम्प्रेषण हुन नदिन सञ्चार माध्यमहरूले थप सचेत भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले एआई र एडभान्स एनालेटिक सेलमार्फत डिजिटल माध्यमबाट फैलिने झुटा सामग्री, दुष्प्रचार तथा प्रविधि–आधारित अपराधको निगरानी र अनुसन्धानलाई थप प्रभावकारी बनाइने संकेत गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया