आर्थिक वृद्धि बढ्दा असन्तुष्टि पनि बढ्न सक्छ : गभर्नर पौडेल

39 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वृद्धिदर बढ्दै जाँदा समाजमा असन्तुष्टि र अस्थिरता बढ्ने सम्भावना रहने बताउनुभएको छ।

सोमबार काठमाडौंमा क्लिकमाण्डुले आयोजना गरेको ‘जेन–जी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले फ्रान्स र चीनजस्ता देशमा भएका ऐतिहासिक क्रान्ति तथा विद्रोहका उदाहरण दिँदै आर्थिक वृद्धिको प्रारम्भिक चरणमा स्थायित्व बढ्ने भए पनि वृद्धि तीव्र बन्दै जाँदा अवसरहरूको असमान वितरणले असन्तुष्टि जन्माउने गरेको उल्लेख गर्नुभयो।

गभर्नर पौडेलका अनुसार नेपालमा उदारीकरण नीतिपछि केही व्यक्तिहरू धनी बनेका छन्, तर त्यसको प्रकृति र स्रोत स्पष्ट रूपमा व्याख्या हुन नसक्दा सामाजिक रूपमा शंका र असन्तुष्टि देखिएको छ। विशेषगरी नवप्रवर्तन (इनोभेसन) आधारित आम्दानीभन्दा लाइसेन्स र आयातमा आधारित तरिकाले धनी बन्ने प्रवृत्ति अस्वाभाविक देखिने उहाँको तर्क छ।

उहाँले नेपालको आर्थिक उदारीकरण प्रक्रिया र यसले पार्ने सामाजिक प्रभावबारे सचेत रहन आवश्यक रहेको बताउँदै आर्थिक वृद्धिलाई समावेशी बनाउन र अवसरहरूको न्यायोचित वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। यसो गर्न सके समाजमा विद्रोह वा अस्थिरताको जोखिम कम गर्न सकिने उहाँको भनाइ छ।