काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनलाई काठमाडौंको चोभर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
यसअघि पनि प्रसाईं माघ ५ गते पोखराबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई काठमाडौं ल्याइएको थियो। तर, माघ ६ गते हाजिर जमानीमा रिहा गरिएको थियो।
प्रहरीले प्रसाईंको पछिल्लो पक्राउबारे थप अनुसन्धान भइरहेको जनाएको छ। घटनाबारे विस्तृत विवरण संकलन भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ।
पछिल्लो समय विभिन्न गतिविधि र अभिव्यक्तिका कारण उनी चर्चामा रहँदै आएका छन्। सुरक्षासँग सम्बन्धित संवेदनशील विषयलाई ध्यानमा राख्दै प्रहरीले निगरानी बढाएको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया