काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ।
सोमबार राति जारी प्रेस विज्ञप्तिमार्फत निगमले ग्यास उद्योगहरूलाई सिलिण्डर आपूर्ति सहज बनाउन निर्देशन दिँदै बजारलाई सामान्य अवस्थामा राख्न आग्रह गरेको जनाएको छ। निगमका अनुसार इण्डियन आयल कर्पोरेसनबाट सन् २०२६ जनवरी महिनामा मात्रै ४७ हजार ३ सय ४ मेट्रिक टन एलपी ग्यास आयात गरिएको छ।
यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २ सय ६४ मेट्रिक टन र डिसेम्बरमा ४८ हजार ५ सय ३१ मेट्रिक टन ग्यास आयात भएको तथ्यांक पनि निगमले सार्वजनिक गरेको छ। उक्त परिमाण जाडोयामको बढ्दो माग धान्न पर्याप्त रहेको निगमको दाबी छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार हाल केही सीमित उद्योगका सिलिण्डरमा देखिएको अस्थायी अभावलाई समाधान गर्न सम्बन्धित उद्योगहरूलाई तत्काल आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
बजारको वर्तमान अवस्था तथा आउँदो निर्वाचनलाई ध्यानमा राख्दै फेब्रुअरी महिनाका लागि नियमित कोटामा थप दुई हजार मेट्रिक टन ग्यास आयात गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए।
निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न समेत अनुरोध गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया