काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन सबैलाई अनुरोध गरेको छ।
सोमबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि हालसम्म नेपालमा निपाह भाइरसका घटना पुष्टि भएका छैनन्। स्वास्थ्य निकायहरू जोखिम न्यूनीकरणका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेकाले आतंकित नहुन र आफू तथा परिवार सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य रूपमा पालन गर्न मन्त्रालयले आग्रह गरेको छ।
विज्ञप्तिमा थप भनिएको छ कि “विश्व स्वास्थ्य संगठनले विश्वव्यापी तथा दक्षिण-पूर्वी एसिया क्षेत्रीय स्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्यांकन गरेको भए पनि छिमेकी मुलुकमा देखिएका केही घटना दृष्टिगत गर्दै, हाम्रो इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पूर्वतयारीका कदमका रूपमा स्वास्थ्य संस्था तथा निकायहरूलाई सचेत गराएको छ। साथै निपाह भाइरसको परीक्षण एल्गोरिदम (अन्तरिम) तयार गरिएको जानकारी गराइन्छ।”
मन्त्रालयले जनतालाई सचेत र सुरक्षित रहन सतर्कता अपनाउन अनुरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया