काठमाडौं – अन्तरिम सरकारकी स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफू मन्त्री रहँदासम्म मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
काठमाडौंमा बिहीबार आयोजित एक संस्थाको ६४औँ वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गौतमले मानसिक स्वास्थ्यलाई स्वास्थ्य क्षेत्रको प्रमुख मुद्दाका रूपमा अघि बढाउने बताउनुभयो। उहाँले विशेषगरी वैदेशिक रोजगारीमा गएका नेपालीहरूको स्वास्थ्य अवस्था र मातृ तथा शिशु मृत्युदर न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो।
उहाँका अनुसार स्वास्थ्य प्रणालीमा देखिएका कमजोरी सुधार गर्नु पनि आफ्नो मुख्य लक्ष्य रहेको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, औषधि नियमन सुदृढ गर्ने, साथै औषधि खरिद–बिक्री र आपूर्ति प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउनेतर्फ आफू केन्द्रित रहने उहाँले बताउनुभयो।
मन्त्री गौतमले स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत जनशक्तिको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै जीवनको हरेक चरणमा आफूलाई प्रमाणित गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा उहाँले नर्सिङ एशोसिएशन नर्सहरूको हक–हित संरक्षणका लागि स्थापित संस्था भएको पनि बताउनुभयो।
उहाँले स्वास्थ्य सेवामा गुणस्तर सुधार र पहुँच विस्तारका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया