काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारी सञ्चालनका लागि सबै सेवाग्राही र सेवा प्रदायकहरूलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
बोर्डले ‘स्वास्थ्य बीमाको सही सदुपयोग गरौं’ भन्ने सन्देशसहित अनावश्यक परीक्षण र दुरुपयोग रोक्न सार्वजनिक अपिल गरेको हो। स्वास्थ्य बीमा कार्यक्रमले दैनिक करिब ५० हजार नागरिकलाई सेवा प्रदान गर्दै औसत ८ करोड रुपैयाँ बराबरको स्वास्थ्य खर्चको जोखिमबाट बचाइरहेको छ।
सीमित स्रोतसाधनको दिगोपनका लागि सेवाग्राहीलाई चिकित्सक वा स्वास्थ्यकर्मीमाथि अनावश्यक परीक्षणका लागि दबाब नदिन र बीमाको दुरुपयोग नगर्न अनुरोध गरिएको छ। त्यस्तै, सेवा प्रदायक स्वास्थ्य संस्थालाई औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार निर्देशन दिन बोर्डले आग्रह गरेको छ।
बोर्डले जारी गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रहरूको पूर्ण कार्यान्वयन स्वास्थ्य संस्थाहरूलाई गर्नुपर्नेमा जोड दिएको छ। लामो समयदेखि भुक्तानी नपाएको भन्दै त्रिवि शिक्षण अस्पताल, गंगालाल अस्पताल जस्ता संस्थाले सेवा बन्द गरेकोमा बोर्डले सेवा सुचारू गर्न निरन्तर पहल गरिरहेको जनाएको छ।
स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ अनुसार सञ्चालित यो कार्यक्रमले नेपालमा सर्वव्यापी स्वास्थ्य पहुँच र दिगो विकास लक्ष्य प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको छ। सामाजिक ऐक्यबद्धताको सिद्धान्तअनुसार वित्तीय सुरक्षा सुनिश्चित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बोर्ड अधिकतम प्रयास गरिरहेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया