काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले बोलाएको छ।
साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थलीले नेपाललाई केही विषयमा बुझ्नुपर्ने भएकाले बोलाइएको पुष्टि गर्नुभयो। उहाँका अनुसार हिजै टेलिफोनमार्फत उपस्थित हुन भनिए पनि नेपाल अहिलेसम्म ब्युरोमा उपस्थित भएका छैनन्।
‘हामीले हिजै फोन गरेर उपस्थित हुन भनेका छौँ । उहाँ आइपुग्नु भएको छैन,’ एसपी अवस्थलीले भन्नुभयो।
साइबर ब्युरोले नेपालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका अभिव्यक्तिका सम्बन्धमा बुझ्न बोलाइएको जनाएको छ। यद्यपि उनीविरुद्ध कसले र कुन विषयमा उजुरी दिएको हो भन्ने विवरण भने प्रहरीले खुलाएको छैन।
स्वागत नेपाल ५ माघमा राप्रपामा प्रवेश गरेका थिए। उनी आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया