आईजीपी कार्कीले चुनाव सुरक्षा सुनिश्चित गर्न प्रहरीलाई निर्देशन

166 Shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आगामी निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ।

प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्य माध्यम मार्फत बिहीबार आयोजित कार्यक्रममा आईजीपी कार्कीले प्रहरी कर्मचारीहरूलाई सुरक्षा संवेदनशीलता र समसामयिक चुनौतीका विषयमा निर्देशित गर्नुभयो। उहाँले प्रत्येक क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन, अपराधसम्बन्धी सूचना संकलन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जोड दिनुभयो।

अपराध अनुसन्धान, सीमा नाकामा राजस्व चुहावट रोकथाम, हातहतियार बरामद, ट्राफिक व्यवस्थापन र फरार प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न समेत निर्देशन दिइएको छ।

यसै अवसरमा प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी र अपराध अनुसन्धान विभागका प्रमुख अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले कार्यस्थलमा खटिने कर्मचारीलाई परिस्थितिअनुसार आफूलाई ढाल्न आग्रह गरेका थिए।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृत, काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी विशेष सुरक्षा गण, प्रदेश प्रहरी गण, जिल्ला प्रहरी परिसर र मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको ‘भर्चुअल’ उपस्थिति रहेको थियो।