काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह जनकपुरधाम जाने भएका छन् । संवाद सचिवालयका अनुसार माघ १२ गते उनीहरू जनकपुरधाम पुगेर ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जानकी मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय भएको छ ।
पूर्वराजा–पूर्वरानीको आगमनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाले स्वागत तथा व्यवस्थापनको तयारी तीव्र पारेको छ । राप्रपा धनुषाले एक हजार एक सदस्यीय मूल समारोह स्वागत समिति गठन गरेको छ भने कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन विभिन्न उपसमितिहरू समेत गठन गरिएको जनाएको छ ।
पार्टीका अनुसार सुरक्षा, यातायात, आवास, जनसम्पर्क र कार्यक्रम व्यवस्थापनलगायतका जिम्मेवारी फरक–फरक उपसमितिलाई तोकिएको छ । पूर्वराजाको जनकपुरधाम आगमनलाई ऐतिहासिक अवसरका रूपमा लिँदै स्थानीयस्तरमा व्यापक तयारी भइरहेको र ठूलो संख्यामा समर्थक तथा सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको छ ।
जानकी मन्दिर दर्शनपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलको अन्य धार्मिक स्थल अवलोकन तथा स्थानीय अगुवासँग भेटघाटको सम्भावना पनि रहेको बताइएको छ । यद्यपि, औपचारिक कार्यक्रमको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
पूर्वराजाको जनकपुरधाम भ्रमणलाई लिएर राजनीतिक र सामाजिक वृत्तमा समेत चासो बढेको छ । जनकपुरधाम धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण शहर भएकाले उक्त भ्रमणले थप ध्यानाकर्षण गर्ने अनुमान गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया