काठमाडौं । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डरअनुसार परीक्षा चैतको पहिलो सातामै सुरु गर्ने तयारी भए पनि देशभर सम्पन्न हुन लागेको निर्वाचनका कारण परीक्षा तालिका परिमार्जन गरिएको हो ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार निर्वाचनले सुरक्षासहित प्रशासनिक व्यवस्थापनमा प्रभाव पर्ने भएकाले परीक्षा मिति केही पछि सारिएको हो । “सबै पक्षलाई ध्यानमा राख्दै चैत १९ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरिएको छ,” अधिकारीले जानकारी दिनुभयो ।
यस वर्ष एसईई परीक्षामा देशभरका सामुदायिक तथा संस्थागत विद्यालयका ठूलो संख्यामा विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ । बोर्डका अनुसार परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र छपाइ तथा गोप्य ढुवानी, परीक्षक र केन्द्राध्यक्ष व्यवस्थापनलगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
निर्वाचनका बेला सुरक्षा निकाय, स्थानीय प्रशासन र विद्यालय व्यवस्थापन समितिहरू व्यस्त रहने भएकाले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको सहजताका लागि परीक्षा केही पछि सार्नु उपयुक्त भएको बोर्डको भनाइ छ । बोर्डले परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न सम्बन्धित सबै निकायसँग समन्वय भइरहेको पनि जनाएको छ ।
परीक्षार्थीहरूलाई निर्धारित परीक्षा तालिकाअनुसार समयमै तयारी गर्न र बोर्डले जारी गर्ने निर्देशनको पालना गर्न आग्रह गरिएको छ । साथै, परीक्षा केन्द्रमा आवश्यक पहिचान पत्रसहित तोकिएको समयभन्दा अगाडि उपस्थित हुन बोर्डले सबै विद्यार्थीलाई अनुरोध गरेको छ ।
एसईई परीक्षा नेपाली शैक्षिक प्रणालीको महत्वपूर्ण परीक्षा मानिन्छ, जसले विद्यार्थीको आगामी शैक्षिक यात्राको आधार तय गर्ने भएकाले परीक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया