निर्वाचन आयोगद्वारा आचारसंहिता उल्लङ्घनमा कडा कारबाहीको चेतावनी, ३ हजार ४८६ उम्मेदवारको मनोनयन दर्ता

173 Shares

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, उजुरी प्राप्त भएपछि मात्र होइन, आयोगले आफैं अनुसन्धान (स्वअध्ययन) गरेर पनि आचारसंहिताको उल्लङ्घन भएको ठहर भए कारबाही अगाडि बढाउनेछ।

आचारसंहिता कार्यान्वयन र उल्लङ्घन रोक्ने उद्देश्यले निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रस्तरमा आयोगका अनुगमन संयन्त्र सक्रिय राखिएको छ। उहाँले राजनितिक दल, उम्मेदवार र मतदाता सबैले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो।

यसैबीच, आयोगले हिजो देशभर ३ हजार ४८६ जनाले उम्मेदवारी दर्ता गरिसकेको जानकारी दिएको छ। उम्मेदवारी दर्ता प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण भएको बताइएको छ।

आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम तोकिएको छ। प्राप्त उजुरीको आधारमा निर्वाचन अधिकृतको कार्यालयमा छानबिन गरिनेछ। छानवीनपछि अयोग्य ठहर भएका उम्मेदवारको नाम हटाएर संशोधित नामावली सार्वजनिक गरिने पनि आयोगले जनाएको छ।