पतञ्जलि भ्रष्टाचार प्रकरण : माधवकुमार नेपालसहितको मुद्दाको पेसी माघ १४ गते तोकियो

166 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ।

उक्त मुद्दाको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार नेपालसहितसम्बन्धित अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो। यसअघिको आदेशअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल नपठाएपछि विशेष अदालतले पुनः आदेश गरेको थियो।

आज (बुधबार) अख्तियारबाट फाइल प्राप्त भएपछि माघ १४ गतेका लागि पेसी तोकिएको विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि अख्तियारले मुद्दा नचल्ने गरी फाइल तामेलीमा राख्ने निर्णय गर्दै फाइल पठाएको थियो, सोही निर्णयमाथि सुनुवाइका लागि पेसी तोकिएको हो।

गत जेठ २२ गते पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा अख्तियारले नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। अख्तियारले नेपालसहितका प्रतिवादीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।

अख्तियारको दाबीअनुसार, नेपाल प्रधानमन्त्री रहेका बेला २०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा व्यक्तिलाई लाभ हुने गरी हस्तान्तरण (कारोबार स्वीकृति) गरिएको थियो।

त्यस्तै, सोही मन्त्रिपरिषद् निर्णयका आधारमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा हिनामिना भएको अख्तियारको ठहर रहेको छ।