निर्वाचनको आशाबीच नेप्सेमा सामान्य करेक्सन, सूचक ९.४३ अंकले घट्यो

166 Shares

काठमाडौं । नेपाल स्टक एक्जचेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य करेक्सन देखिएको छ। साताको सुरुदेखि निरन्तर बढ्दै आएको नेप्से सूचक बुधबार ९.४३ अंकले घटेर २७०५.३८ बिन्दुमा झरेको हो।

आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुने पक्कापक्की भएपछि सेयर बजारमा पछिल्ला दिनहरूमा सुधार देखिँदै आएको थियो। देशभर उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै राजनीतिक स्थिरता, बजारमैत्री सरकार र सेयर बजारको दीर्घकालीन विकास हुने अपेक्षाले लगानीकर्ताको मनोबल बढेको देखिन्छ।

सेयर लगानीकर्ता ओमप्रकाश शर्माका अनुसार बुधबारको करेक्सन नकारात्मक होइन, बरु दिगो वृद्धिको संकेत हो। “बजार एकोहोरो बढ्दा जोखिम हुन्थ्यो, करेक्सन हुँदै बढ्नु स्वस्थ बजारको संकेत हो,” उनले भने।

कारोबारको सुरुवातमा नेप्से दोहोरो अंकले बढे पनि अन्त्यमा घटेर बन्द भएको हो। यस दिन १७४ कम्पनीको सेयर मूल्य घट्दा बजार सूचक नकारात्मक बनेको छ भने सेन्सेटिभ इन्डेक्स १.३५ अंकले घटेको छ। ८२ कम्पनीको सेयर बढेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ। कालिका पावर र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ९ प्रतिशतसम्म बढेको छ।

समूहगत रूपमा बुधबार बैंकिङ, विकास बैंक, वित्त, होटल, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, निर्जीवन बीमा र व्यापार समूह घटेका छन्। अन्य समूह मात्रै ६.३४ अंकले बढेको छ।

कारोबार रकम पनि घटेको छ। बुधबार नेप्सेमा ३२४ कम्पनीको ८९,७६६ कारोबारबाट ८ अर्ब ९२ करोड रुपैयाँ बराबरको २ करोड १६ लाख ४१ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ। यो रकम मंगलबारको करिब १२ अर्ब रुपैयाँको कारोबारभन्दा कम हो।