निर्वाचनअघि १० दिनमै इन्धन खपत २५% सम्म बढ्ने अनुमान, आयल निगम तयारीमा

183 Shares

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत १० दिनमै २०–२५ प्रतिशतसम्म बढ्ने सरकारी अधिकारीहरूले अनुमान गरेका छन्। यसलाई ध्यानमा राख्दै नेपाल आयल निगम (एनओसी) ले इन्धन व्यवस्थापनको तयारी तीव्र पारेको छ।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार चुनावी गतिविधि बढ्दा चाडपर्व जस्तै ठूलो परिमाणमा इन्धन खपत हुने भएकाले सबै डिपोलाई पर्याप्त स्टक राख्न निर्देशन दिन लागिएको छ। चुनाव आसपास केही दिन सीमा नाका बन्द हुने सम्भावना रहेकाले त्यसअनुसार व्यवस्थापन गरिने उनले बताए।

हाल औसतमा पेट्रोल २०–२५ लाख लिटर र डिजेल ३८–४० लाख लिटर दैनिक खपत हुने गरेको छ। चुनावअघि मात्रै खपत २०–२५% बढ्ने अनुमानसहित सोही अनुपातमा स्टक राख्ने तयारी गरिएको छ। आयल निगमसँग रहेका १७–१८ सय ट्याङकर मोभिलाइज गरी ट्याङकरमै पनि स्टक राखिनेछ।

भट्टका अनुसार २–४ दिन सीमा बन्द भए पनि बजारमा समस्या नआउने गरी आपूर्ति सुनिश्चित गरिनेछ। कुन–कुन नाकाबाट कति इन्धन ल्याउने र कति स्टक राख्ने भन्ने निर्णय यसै साता हुने छ।

भण्डारण क्षमता विस्तार

निगमले भण्डारण क्षमता उल्लेखनीय रूपमा बढाएको छ।

  • अमलेखगञ्जमा १४ हजार केएलका ४ वटा ट्याङ्की

  • पोखरामा १० हजार केएल ट्याङ्की सञ्चालन

  • विराटनगर र नेपालगञ्जका ट्याङ्की प्रयोगमा

अहिले डिजेल करिब १४ दिन र पेट्रोल १२ दिन धान्ने भण्डारण क्षमता पुगेको निगमले जनाएको छ।

पाइपलाइन विस्तारले लागत घट्यो

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन सञ्चालनमा आएपछि डिजेलसँगै पेट्रोल र मट्टीतेल पनि पाइपलाइनमार्फत ल्याउन सकिने भएको छ। यसले ढुवानी लागत घट्दा उपभोक्तालाई प्रतिलिटर करिब २ रुपैयाँ सस्तो परेको छ।

आगामी योजनाअनुसार अमलेखगञ्ज–चितवन र सिलगुढी–झापा पाइपलाइन अघि बढ्दैछन्, जसले प्रतिलिटर करिब साढे ३ रुपैयाँ थप सस्तो पर्ने अपेक्षा छ। यी पाइपलाइन र भण्डारण परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।

निगमले भविष्यमा हवाई इन्धन पनि पाइपलाइनमार्फत ल्याएर भण्डारण र वितरण गर्ने तयारी गरिरहेको जनाएको छ, जसले ट्याङ्करमार्फत भारत जानुपर्ने बाध्यता हट्ने बताइएको छ।