उम्मेदवारविरुद्ध उजुरी बुधबार, माघ ९ गते अन्तिम नामावली प्रकाशन

167 Shares

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बुधबार उजुरी दिन सकिने व्यवस्था रहेको जनाएको छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत मनोनयन पत्र दर्ता भएका उम्मेदवारविरुद्ध तोकिएको समयसीमाभित्र उजुरी दिन सकिने आयोगले जनाएको हो। प्राप्त उजुरीमाथि माघ ८ गते साँझ ५ बजेसम्म जाँचबुझ गरी निर्णय गरिनेछ।

आयोगका अनुसार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नाम फिर्ता, सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन तथा दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिनेछ।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर मनोनयन पत्र दर्ता कार्यक्रम उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्दै आगामी कार्यक्रमहरूमा पनि सबै पक्षको सहयोगको अपेक्षा गर्नुभएको छ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार कुल २ हजार ९ सय २५ उम्मेदवारी दर्ता भएका छन्। तीमध्ये ३ सय ३६ महिला र २ हजार ५ सय ८९ पुरुष उम्मेदवार रहेका छन्।

त्यस्तै, अपाङ्गता भएका ८५ जना र पिछडिएको क्षेत्रबाट १ सय ३८ जना उम्मेदवारको उम्मेदवारी परेको आयोगले जनाएको छ।