काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व, दीर्घकालीन योजना र स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताएका छन्।
२७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहले अब राष्ट्र निर्माणको नयाँ यात्रामा अघि बढ्ने समय आएको उल्लेख गरेका छन्। आगामी फागुन २१ गते हुने उपनिर्वाचनमा झापा क्षेत्र नं. ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका शाहको यो अभिव्यक्तिलाई राजनीतिक सन्देशका रूपमा हेरिएको छ।
आफ्नो इन्जिनियरिङ पृष्ठभूमि स्मरण गर्दै शाहले २०७२ सालको विनाशकारी भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरेको र गोरखा सहित ३५ भन्दा बढी जिल्लामा काम गरेको अनुभव रहेको बताएका छन्। ती अनुभवले राष्ट्र निर्माण केवल पूर्वाधार निर्माणमै सीमित नहुने स्पष्ट बुझेको उनको भनाइ छ।
“नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन,” शाहले भनेका छन्, “भौगोलिक बनावटसँगै हाम्रो विविध समाजलाई सँगसँगै अघि बढाउनुपर्छ।”
यही बुझाइका आधारमा आफू भारत गएर स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको र विदेशमा बस्ने अवसर त्यागेर देश फर्किएको उनले उल्लेख गरेका छन्।
काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हाल्दै गर्दा शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गर्दै शाहले स्थानीय तहले चाहेमा आम नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पर्ने काम गर्न सकिन्छ भन्ने कुरा महानगरले प्रमाणित गरेको जिकिर गरे। महानगरमा सुरु गरिएका पारदर्शी प्रणाली, संरचनागत सुधार र सेवामुखी अभ्यासलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनको संकेत छ।
आगामी राजनीतिक यात्राको उद्देश्य स्पष्ट पार्दै शाहले भनेका छन्,
“हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउने हो।”
उनका अनुसार अब देशलाई अल्पकालीन निर्णय र लोकप्रिय नाराको राजनीति होइन, संकट आउनुअघि तयारी गर्ने नीति, विपद् सहन सक्ने संरचना र जनताको विश्वास जित्ने शासन प्रणाली आवश्यक छ।
पछिल्लो समय झापा–५ बाट निर्वाचन लड्ने चर्चालाई थप बल दिने गरी शाहले यो अभियानलाई कुनै एक व्यक्तिको होइन, सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान का रूपमा चित्रण गरेका छन्।
देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ
लोकप्रिय नारा होइन, इमानदार नेतृत्व आवश्यक छ
विकास भनेको संरचना मात्र होइन, जनताको विश्वास र सुरक्षासँग जोडिएको प्रक्रिया हो
यो अभियान कुनै एक व्यक्तिको होइन, सबै नेपालीको साझा अभियान हो
फेसबुकबाट तपाईको प्रतिक्रिया