काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकका निर्णय र पार्टी विवरण अध्यावधिक गर्न नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
सहमहामन्त्री डिला संग्रौलाले आज बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय तथा पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुगेको जानकारी दिइन् । उनका अनुसार सभापति गगन थापासहित अन्य पदाधिकारीहरू पनि आयोग आउनेक्रममा छन् ।
‘केन्द्रीय समिति बैठकले पार्टीका सबै विवरण अध्यावधिक गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आज निर्वाचन आयोगलाई विवरण बुझाउन तथा जानकारी गराउन लागिएको हो,’ उनले भनिन् ।
बुधबार सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो ।
उता शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले भने पार्टीको कुनै विशेष महाधिवेशन नभएको दाबी गर्दै यसअघि नै निर्वाचन आयोगमा पत्र पठाइसकेको छ । देउवा समूहले पत्र पठाउनुअघि नै विशेष महाधिवेशन पक्षधर समूहले आयोगमा विशेष महाधिवेशन भइरहेको बेहोराको जानकारी गराइसकेको थियो ।
यससँगै नेपाली कांग्रेसमा आधिकारिकताको विवाद थप चुलिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया