कांग्रेस नेता हृदयराम थानीद्वारा प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा

165 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि मुलुक अप्रत्यासित राजनीतिक घटनाक्रम र अन्यौलको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै थानीले संविधानलाई पुनः लिकमा ल्याउन तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न हुनु आवश्यक रहेको बताएका छन् । तर, आफू भने निर्वाचनमा सहभागी नहुने उनको घोषणा छ ।

स्वास्थ्य अवस्थाका कारण उम्मेदवार नबन्ने निर्णय लिएको भन्दै उनले सूचना जारी गरेका छन् । ‘मेरो प्रतिकूल स्वास्थ्य अवस्थाका कारण यही माघ ६ गते हुने मनोनयन दर्तामा उपस्थित हुन तथा त्यसपश्चात सक्रिय हुन नसक्ने अवस्था देखिएकोले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु,’ उनले सूचनामा उल्लेख गरेका छन् ।

थानीको नाम सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस भइसकेको थियो । तर करिब दुई महिनादेखि खुट्टामा देखिएको नसा सम्बन्धी समस्याका कारण सहज रूपमा हिँडडुल गर्नसमेत नसकिरहेको र चिकित्सकको सल्लाहअनुसार घरमै फिजियोथेरापी उपचार गरिरहेको उनले बताएका छन् ।

६५ वर्षीय थानी यसअघि पटक–पटक संघीय सांसद भइसकेका छन् । उनी २०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने २०७० सालमा संविधानसभा सदस्यका रूपमा संविधान निर्माणमा भूमिका खेलेका थिए । २०७९ सालमा पनि उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

विद्यार्थी राजनीतिबाट उदाएका थानी २०३५ देखि २०३९ सम्म नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस सभापति रहे । २०४१ देखि २०४३ सम्म स्वतन्त्र विद्यार्थी युनियन शंकरदेव क्याम्पस सभापति भएका उनी २०४३ देखि २०४८ सम्म नेपाल विद्यार्थी संघ केन्द्रीय समिति उपाध्यक्षको जिम्मेवारीमा थिए । २०५९ देखि २०६१ सम्म उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतको सभापति बने ।

१३औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थानी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै पटक–पटक गरी करिब दुई वर्ष जेल जीवन बिताएका नेता हुन् । उनी २०६२/०६३ को संयुक्त जनआन्दोलनका घाइतेसमेत हुन् ।