काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा सरकारले कूल ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार यो रकम पुससम्म तय गरिएको लक्ष्यको ८१ दशमलव ७५ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । सोअनुसार पुससम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य तय गरिएको थियो । तर वास्तविक संकलन लक्ष्यभन्दा करिब १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँले कम रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार पुस महिनाको राजश्व संकलन भने तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ । पुस महिनाका लागि १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ लक्ष्य तोकिएकामा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ राजश्व संकलन भएको हो । यसअनुसार पुस महिनाको प्राप्ति प्रतिशत ८९ दशमलव ९६ प्रतिशत रहेको छ । साथै पुस ३० गते एकै दिनमा २० अर्ब २६ करोड रुपैयाँ राजश्व संकलन भएको विवरण मन्त्रालयले उपलब्ध गराएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ वार्षिक राजश्व लक्ष्य लिएको थियो । उक्त वर्ष पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ रहेकामा पुस २९ गतेसम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ मात्र संकलन भएको थियो । त्यस वर्ष पुस महिनामा मात्रै १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार चालु आर्थिक वर्षमा पुस महिनाको राजश्व संकलन अघिल्लो वर्षको सोही अवधिको तुलनामा केही सुधार देखिए पनि समग्रमा पुससम्मको लक्ष्य प्राप्ति अझै चुनौतीपूर्ण देखिएको छ ।
राजश्व संकलनलाई तीव्र बनाउने उद्देश्यले बाँकी महिनामा नीतिगत तथा कार्यान्वयन तहमा थप प्रभावकारी प्रयास गरिने अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जेनजी आन्दोलनका कारण पहिलो त्रैमासमा राजश्व संकलनमा केही अप्ठ्यारा आएका थिए । तर पछिल्ला दिनमा राजश्व संकलन सकारात्मक देखिएको छ । आगामी दिनमा लक्ष्यअनुसार राजश्व उठ्ने सम्भावना छ ।”
प्रवक्ता पाण्डेयका अनुसार राजश्व चुहावट रोक्दै लक्ष्यअनुसार राजश्व संकलन गर्न अर्थ मन्त्रालयले मातहतका सबै निकायलाई निर्देशन दिइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया