काठमाडौं । जेन्जी मुभमेन्ट नेपालले रवि लामिछानेविरुद्ध चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने प्रक्रियाप्रति कडा आपत्ति जनाएको छ ।
महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धको मुद्दा फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको भन्दै मुभमेन्टले यसलाई शक्तिको दुरुपयोगको संज्ञा दिएको हो । जेन्जी मुभमेन्टका प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गर्दै महान्यायाधिवक्ता सविता भण्डारीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।
विज्ञप्तिमा जेनजी आन्दोलन र शहीदहरूको बलिदानबाट बनेको सरकारले नै अपराधीको संरक्षण गरेको आरोप लगाइएको छ । यस्तो कार्यले कानूनको सर्वोच्चता कमजोर पार्नुका साथै लोकतान्त्रिक मूल्य, पीडितको न्याय र राज्यको जिम्मेवारीविरुद्ध भएको मुभमेन्टको ठहर छ ।
‘जेन्जी विद्रोहलाई अपहरण गर्दै सत्ता कब्जामार्फत बनेको सुशीला कार्की नेतृत्वको सरकार र उहाँद्वारा नियुक्त महान्यायाधिवक्ताबाट अपराधीलाई उन्मुक्ति दिने कार्यले कानूनको शासनमाथि गम्भीर प्रहार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
जेन्जी मुभमेन्टले कुनै पनि अपराधीलाई दिइने उन्मुक्तिलाई जेनजी विद्रोहमाथिको धोका र शहीदहरूको बलिदानीमाथिको गम्भीर अपमानका रूपमा व्याख्या गरेको छ । ‘कानून सबैका लागि समान हुनुपर्छ । शक्तिशालीका लागि छुट र पीडितका लागि मौनता स्वीकार्य छैन,’ विज्ञप्तिमा उल्लेख छ ।
मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ता सविता भण्डारीलाई सार्वजनिक रूपमा बहिष्कार गर्नसमेत आह्वान गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया