देउवा पक्षसँग कारबाही गर्ने अधिकार छैन : जगदीश्वरनरसिंह केसी

195 Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता जगदीश्वरनरसिंह केसीले शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई कारबाही गर्ने कुनै अधिकार नै नराख्ने टिप्पणी गर्नुभएको छ ।

बुधवार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता केसीले विशेष महाधिवेशनको बन्दसत्रबाट कार्यविधि पारित भएको दिनदेखि नै निवर्तमान केन्द्रीय समिति स्वतः विघटन भइसकेको दाबी गर्नुभयो । त्यसैले विघटित केन्द्रीय समितिले कुनै पनि प्रकारको कारबाही गर्न कानुनी हैसियत नराख्ने उहाँको भनाइ छ ।

उहाँले जारी विशेष महाधिवेशन नै नेपाली काँग्रेसको वैधानिक थलो भएको दाबी गर्दै पार्टीका सम्पूर्ण निर्णय यही प्रक्रियाअन्तर्गत हुने स्पष्ट पार्नुभयो । विशेष महाधिवेशनकै हलबाट पार्टीको सभापति तथा अन्य पदाधिकारी घोषणा गरी सभापतिको हस्ताक्षरसहित पदाधिकारीको विवरण निर्वाचन आयोगमा पेस गरिने जानकारी समेत उहाँले दिनुभयो ।

नेता केसीले भन्नुभयो, ‘जुन दिन विशेष महाधिवेशनको बन्दसत्रबाट कार्यविधि पारित भयो, त्यही दिन पार्टीको निवर्तमान केन्द्रीय समिति विघटन भइसकेको हो । उहाँहरू आधिकारिक हुनुहुन्न । विघटित कार्यसमितिले कसैलाई पनि कारबाही गर्ने अधिकार छैन । वैधानिक हल यही हो ।’

उहाँले २०१४ सालको उदाहरण स्मरण गर्दै तत्कालीन निवर्तमान सभापतिले महाधिवेशन आह्वान गरेजस्तै अहिले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आह्वान गरेको बताउनुभयो । ‘त्यसरी नै आज हामी यहीँबाट पार्टीको सभापति लगायत पदाधिकारी घोषणा गर्छौं र सभापतिको हस्ताक्षरसहित विवरण निर्वाचन आयोगमा पेस गर्छौं,’ उहाँले भन्नुभयो ।

नेता केसीले आउँदो निर्वाचनमा नेपाली काँग्रेस नयाँ नीति र नयाँ नेतृत्वसहित जनतामाझ जाने स्पष्ट पार्नुभयो ।