कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अझै आधारभूत पूर्वाधारको अभाव : प्रधानमन्त्री कार्की

174 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अझै पनि आधारभूत पूर्वाधारको अभाव कायमै रहेको बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा आयोजित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जुम्लाजस्तो दुर्गम क्षेत्रमा प्रतिष्ठान स्थापना हुनु आफैंमा महत्वपूर्ण उपलब्धि भए पनि आवश्यक संरचना नहुनु दुःखद पक्ष भएको उल्लेख गर्नुभयो ।

उहाँले बजेट स्थानान्तरण गरेर स्रोत जुटाउनसमेत सरकारलाई समस्या हुने गरेको बताउँदै नियमित काम गर्न खोज्दा विभिन्न अवरोध झेल्नुपरेको अनुभव सुनाउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपको डरले समेत काम गर्न कठिनाइ हुने गरेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘जुम्लाजस्तो ठाउँमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि स्थानीयवासीले आधारभूत स्वास्थ्य सेवा पाउन थालेका छन् । सानो उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता हटेको छ । एउटा संस्थाको विकासले समग्र क्षेत्रको विकासमा ठूलो महत्व राख्छ ।’

तर, उहाँले प्रतिष्ठानको विकासका लागि आवश्यक साना–साना पूर्वाधारसमेत पूरा हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । ‘होस्टेल छैन, कर्मचारी र चिकित्सकका लागि आवासको सुविधा छैन भन्ने कुरा आउँछ । यति साना आवश्यकतासमेत पूरा गर्न नसक्नु दुर्भाग्यपूर्ण हो,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै नागरिक सेवामा समर्पित भएर काम गर्न प्रतिष्ठान प्रशासनलाई निर्देशन दिनुभयो ।