काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टी एकताको पक्षमा दबाब अभियान सुरु गरेको छ।
विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइरहेका बेला संस्थापन पक्षनिकट तरुण दलका नेता तथा कार्यकर्ताहरूले मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएर पार्टी एकताको पक्षमा दबाब दिएका हुन्। उनीहरूले पार्टीलाई एकतावद्ध बनाएर लैजान कांग्रेस महामन्त्री गगनकुमार थापालाई आग्रहसमेत गरेका छन्।
तरुण दलका सभापति विद्वान गुरुङले महामन्त्री थापा सिंगो पार्टीको नेता बन्न सक्ने क्षमता राख्ने भएकाले उहाँलाई पार्टीलाई एकतावद्ध बनाएर लैजान आग्रह गरिएको बताउनुभयो। उहाँले पार्टी सभापति शेरबहादुर देउवा पनि पार्टी एकताको पक्षमा रहेकाले दुई पक्षबीच वार्ता भइरहेको जानकारी दिनुभयो।
सभापति गुरुङले भन्नुभयो, “अहिले नेपाली कांग्रेस जटिल अवस्थामा छ। एकातिर नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको छ भने अर्कोतिर विशेष महाधिवेशनको उद्घाटन भइसकेको छ र बन्दसत्रसमेत जारी छ। यस्तो अवस्थामा पार्टीलाई एकतावद्ध रूपमा अघि बढाउन दुवै पक्षबीच संवाद भइरहेको छ।”
उहाँले चुनौतीपूर्ण घडीमा नेपाली कांग्रेस एक भएर अघि बढ्ने विश्वास व्यक्त गर्दै भ्रातृ संगठनका रूपमा तरुण दल पार्टी एकताको पक्षमा सबै नेताहरूमाथि दबाब दिइरहेको बताउनुभयो। पार्टी विभाजनको अवस्था आएमा पार्टी केन्द्रीय कार्यालय सानेपामा कुनै पनि प्रकारको हस्तक्षेप हुन नदिने चेतावनीसमेत तरुण दलले दिएको छ।
गुरुङले महामन्त्री गगन थापा जनप्रिय नेता भएकाले उहाँलाई सिंगो पार्टीको नेता बनाउन चाहेको उल्लेख गर्दै विशेष महाधिवेशनमा हस्ताक्षर गर्नेहरूबाट समेत पार्टी फुट्न नदिन दबाब आइरहेको बताए। उहाँले वर्तमान अवस्थामा कांग्रेसलाई फुटाएर होइन, जुटाएर लैजान महामन्त्री थापाले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया