सुमन साय्‌मिसहितका नेताहरू नेकपामा समाहित हुँदै, काठमाडौं–८ बाट चुनाव लड्ने तयारी

159 Shares

काठमाडौं । सुमन साय्‌मिसहित केही नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन्। साय्‌मि आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–८ बाट उम्मेदवारी दिने तयारीमा रहेको बताइएको छ।

निर्वाचन नजिकिँदै जाँदा साय्‌मि नेकपासँग एकता प्रक्रियामा सहभागी हुन लागेका हुन्। उनले आफू पार्टीसँग एकताका क्रममा रहेको पुष्टि गर्दै ‘भोलि एकता हुँदैछ’ भन्ने जानकारी दिएका छन्। एकता सभा भृकुटिमण्डपस्थित राष्ट्रियसभा गृहमा आयोजना गरिने तयारी छ।

साय्‌मि २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले १३ हजार ७७० मत प्राप्त गरेका थिए। चुनावपछि उनी स्वतन्त्र तथा वैकल्पिक राजनीतिक अभियानमा सक्रिय रहँदै आएका थिए।

स्वतन्त्र र वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकीकृत गर्ने प्रयासमा जुटिरहेका साय्‌मिको नेकपासँगको एकतालाई आगामी संसदीय निर्वाचनको सन्दर्भमा महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।