हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट, नौ जना नेपालीको मृत्यु

140 Shares

काठमाडौं । भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपालीको ज्यान गएको छ।

सञ्चारमाध्यमका अनुसार सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा आगलागी भएको थियो। आगलागीमा परेर नौ जनाको घटनास्थलमै मृत्यु भएको हो। विस्फोटपछि लागेको आगोले वरपरका घरहरू पनि जलेर पूर्ण रूपमा ध्वस्त भएका छन्।

मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उहाँकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विक रहेका छन्।

त्यस्तै अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उहाँकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको पनि ज्यान गएको छ।

उनीहरू विगत दुई वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका थिए र सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए। एकै गाउँका नौ जनाको ज्यान गएको घटनाले सिद्धकुमाख गाउँपालिका–२ शोकमा डुबेको छ।