जिल्ला प्रशासन कार्यालय (सीडीओ) काभ्रेपलाञ्चोकको निर्माणाधीन भवनभित्र एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ। ठेकेदार विवादका कारण लामो समयदेखि निर्माण रोकिएको उक्त भवनभित्र शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षकले जानकारी दिएका छन्।
प्रहरीका अनुसार जलेको अवस्थामा भेटिएको शव केही दिनअघिकै हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक पछिल्ला केही दिनदेखि सोही भवनमा बस्दै आएको देखिएको छ। घटनास्थलमा खाना पकाएको प्रमाण पनि फेला परेको छ। मृतक सडकमा प्लास्टिक संकलन गरेर जीविकोपार्जन गर्ने व्यक्ति हुन सक्ने प्रहरीले उल्लेख गरेको छ।
घटनाको कारण र मृतकको पहिचान खुलाउने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया