माघ २ गते २८औँ भूकम्प सुरक्षा दिवस मनाइने

173 Shares

काठमाडौं । सरकारले आगामी माघ २ गते २८औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ।

‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमसहित भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो।

वि.सं. १९९० साल माघ २ गते बिहान २ बजेर २४ मिनेटमा गएको विनाशकारी महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. रविन्द्र बोहोराले विभागअन्तर्गतका कार्यालयहरूलाई दिवसको अवसरमा विविध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकिएको जानकारी दिनुभयो। सोमबार विभागमा आयोजित पत्रकार सम्मेलनमा उहाँले २८औँ भूकम्प सुरक्षा दिवस देशव्यापी रूपमा मनाइने बताउनुभयो।

महानिर्देशक बोहोराका अनुसार यस वर्षको मूल समारोह काठमाडौं महानगरपालिका स्थित खुल्लामञ्चमा आयोजना गरिनेछ। वसन्तपुर क्षेत्रबाट सुरु हुने भूकम्प सुरक्षा र्‍याली आकाश भैरब, इन्द्रचोक, असन र भोटाहिटी हुँदै खुल्लामञ्चमा पुग्नेछ। र्‍यालीपछि प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा मूल समारोह कार्यक्रम आयोजना हुनेछ।

त्यस अवसरमा दुईदिने भूकम्प सुरक्षा प्रदर्शनी पनि आयोजना गरिनेछ, जसमा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थाको सहभागिता रहनेछ।

भूकम्प सुरक्षा दिवसको अवसरमा मूल समारोह बाहेक प्रदेश तथा स्थानीय तहमा गोष्ठी, छलफल, र्‍याली, अन्तरक्रिया, प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटक तथा अडियो–भिडियो कार्यक्रमलगायत विविध प्रचारप्रसारका कार्यक्रम आयोजना गरिनेछन्।

महानिर्देशक बोहोराले भूकम्पका बेला जनधनको ठूलो क्षति कमजोर संरचना भत्किँदा हुने गरेको उल्लेख गर्दै भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुरक्षित भवन निर्माण र राष्ट्रिय भवन संहिता पूर्ण कार्यान्वयन नै सबैभन्दा प्रभावकारी पूर्वतयारी भएको बताउनुभयो। साथै, खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका लागि पनि निरन्तर तयारी आवश्यक रहेको उहाँको भनाइ छ।