मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, इसिमोड योगदानदेखि राष्ट्रिय सभाको अधिवेशन आह्वानसम्म

140 Shares

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्णय सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले सन् २०२४ का लागि बुझाउनुपर्ने वार्षिक योगदानस्वरूप अमेरिकी डलर २ लाख ८३ हजार ५०३ प्रदान गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकले वित्तीय क्षेत्र विकास रणनीति (२०८२/८३ देखि २०८६/८७) स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, सन् २०२५ मार्चमा गएको भूकम्पबाट क्षतिग्रस्त म्यानमारस्थित महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय पुनर्निर्माण तथा गंगाघाट मन्दिर पुनर्निर्माणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ ।

बैठकले गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने माघ ४ गते बिहान ११ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।