त्रिशूली नदी किनारमा भेटिएको बसको सोमबार पनि उत्खनन जारी रहने

136 Shares

काठमाडौं । तनहुँको त्रिशूली नदी किनारमा फेला परेको बसको सोमबार पनि उत्खनन कार्य निरन्तर गरिने भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिनभर उत्खनन कार्य गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोमबार पनि उक्त उत्खनन तथा खोजी कार्य जारी रहनेछ ।

प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः४५ बजे त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा उक्त बस २०८१ साल असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने अनुमान गरिएको छ ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई जना र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

घटनास्थलमा बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रहरीले जनाएको छ । हाल बस उत्खनन गर्ने कार्यसँगै थप अनुसन्धानसमेत जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।