डा. सुनिल शर्माले सभापति देउवालाई विशेष महाधिवेशनको बन्दसत्र उद्घाटन गर्न आग्रह

175 Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्दसत्र उद्घाटन गर्न उपस्थित हुन आग्रह गर्नुभएको छ।

काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता शर्माले सभापति देउवालाई रोइलो छोडेर बन्दसत्रको हलमा उपस्थित हुन अनुरोध गर्नुभयो।

उहाँले महाधिवेशनले सभापति देउवालाई झन्डै आधा दर्जन विकल्प दिन सक्ने उल्लेख गर्दै पार्टी चुनाव लड्न चुनौती दिँदै पराजित भएपनि फूलमालासहित घर पुर्याइने टिप्पणी गर्नुभयो। साथै, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागलाई सम्बोधन गर्न मध्यमार्गी बाटो अवलम्बन गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो।

उहाँले भन्नुभयो,
‘शेरबहादुर दाई, तपाई एउटा इतिहास बोकेको नेता हो। गाउँबाट आएका नेता हुनुहुन्छ। उमेर ८० कटिसक्यो, मेरो पिताजीको उमेरसँग मिल्दोजुल्दो छ। अब तपाईलाई माथिबाट मात्र बोलाइराखिएको बेला, हिजोका आफ्ना कार्यकर्ताहरू जसले तपाईलाई सभापति बनायो, पटक-पटक सत्तामा पुर्याए, उनीहरूको पक्षमा तपाई बन्दसत्रमा आउनुहोस्।

हामी तपाईलाई ६–७ विकल्प दिनसक्छौँ। पहिलो विकल्प, यदि तपाई फेरि निर्वाचन लड्नुहुन्छ भने आउनुहोस्। तपाई हार्नुहोला वा गगनजी, मैले वा विश्वजी हारौंला, लोकतन्त्र र प्रजातन्त्र विजयी हुन्छन्। तपाई हारिरहँदा पनि हामी रथ–हायर गरेर हार्ने साथीहरूलाई फूलमालासहित घरसम्म पुर्याउँछौँ। यदि यो मन पर्दैन भने हामी बहु विकल्पहरू उपलब्ध गराउनेछौँ।’

पार्टीभित्रको आन्तरिक विवादका बीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन जारी छ भने बन्दसत्र सोमबार बिहानदेखि सुरु हुनेछ।